नियम १४८
अन्य माध्यमबाट म्याद वा सूचना तामेल गराउन सक्ने
(१) मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको ११० नं. बमोजिम तोकिएको प्रक्रियाबाट म्याद वा सूचना तामेल हुन नसकेमा अदालतले देहाय बमोजिम म्याद वा सूचना तामेल गराउन सक्नेछः–
(क) म्याद वा सूचना तामेल गरिनु पर्ने व्यक्तिको कुनै फ्याक्स, इमेल वा अन्य अभिलेख हुन सक्ने विद्युतीय माध्यमको ठेगाना भए सो माध्यमबाट,
(ख) मुद्दाको प्रकृति हेरी पक्षले म्याद वा सूचना तामेली भएको जानकारी सहज रूपमा पाउन सक्ने मनासिब आधार र कारण छ भनी सम्बन्धित अधिकारीबाट आदेश भएमा कुनै राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरेर वा विद्युतीय माध्यम रेडियो, टेलिभिजनबाट सूचना प्रसारण गरेर,
(ग) कुनै सरकारी अड्डा वा स्थानीय तह मार्फत म्याद वा सूचना तामेल गर्न पठाउँदा सो म्याद वा सूचना तामेल हुन सक्छ भन्ने सम्बन्धित अधिकारीलाई लागेमा सो अड्डा वा स्थानीय तहमा पठाएर ।
(२) उपनियम (१) को खण्ड (ख) बमोजिम म्याद वा सूचना तामेल गर्दा लाग्ने खर्च निवेदक, पुनरावेदक वा वादी पक्षबाट असुल गरी पछि कोर्ट फी सरह भराई दिनु पर्नेछ ।
(३) यस नियम बमोजिम तामेल भएको म्याद वा सूचना रीत पूर्वक तामेल भएको मानिनेछ ।